बिहिबार, मंसिर ४, २०८३
  • होमपेज
  • दृष्टिकोणको तहमै मौलिकता सुनिश्चित गर्नको लागि सातत्य दृष्टिकोण
रैथाने भाषा

दृष्टिकोणको तहमै मौलिकता सुनिश्चित गर्नको लागि सातत्य दृष्टिकोण

सातत्य दृष्टिकोणको महत्त्व के छ ? दुईफक्लेटे (बाइनरी) दृष्टिकोण किन त्याज्य हो ?
द्वन्द्ववादी दुईफक्लेटे दृष्टिकोण पराई हो, सातत्यको दृष्टिकोण मौलिक हो । वैदिक, बौद्ध, जैन, किरात, बोन आदि परम्परामा सातत्य दृष्टिकोण रहिआएको छ । उक्त दृष्टिकोणहरूले मानिसको सोचाइ, हेराइ, व्यवहार सबैमा अन्तर पार्छन् ।
जस्तै :– विज्ञान र धर्म अलग अलग वा विरोधी मान्नु दुईफक्लेटे दृष्टिकोण हो । दुईफक्लेटे दृष्टिकोणले हुँदैन । तिनलाई परिपूरक मात्रै मानेर पनि पुग्दैन । तिनीहरूको सातत्य सम्बन्ध चाहिँ हो बुझ्नुपर्ने ।
सातत्यको दृष्टिकोणले मानव जीवनको पूर्णताका लागि स्थूल, सूक्ष्म र कारण शरीर तीनैवटालाई यथार्थ मान्छ, आधिभौतिक, आधिदैविक र आध्यात्मिक तीनवटै अभ्युदय आवश्यक ठहर्याउँछ र विज्ञान र धर्मलाई अन्तःसम्बद्ध देख्छ । उपनिषद्ले अविद्या र विद्याको सातत्य सम्बन्ध बताएझैँ ।
अर्को उदाहरण :– दुईफक्लेटे दृष्टिकोणले व्यक्ति, समाज र राज्यलाई प्रतिस्पर्धी वा शत्रु देखाउँछ । एउटै समाजमा रहेका अनेक समुदायलाई सङ्कीर्ण कित्ताकाटमा विभाजन गर्ने दोषपूर्ण दृष्टिकोण त्यसले दिन्छ । यता सातत्य दृष्टिकोणले व्यक्ति, परिवार, कुटुम्ब, समाज, राज्य र वैश्विक संरचनाहरू सहृदयताको प्रणालीमा आबद्ध एवं अन्तःसम्बद्ध हुने विचार र व्यवहारको प्रवर्धन गर्छ ।
तेस्रो उदाहरण :– दुईफक्लेटे दृष्टिकोणले राष्ट्रराज्य, द्विराष्ट्रियता, बहुराष्ट्रियता जस्तो मताग्रह देखाउँछ । यता सातत्यको दृष्टिकोणले चाहिँ देशमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक समाज छ, तर राष्ट्र त सबै समन्वित भई बन्ने समष्टिमूलक एउटै साझा राष्ट्रियता छ भन्ने तथ्य देखाउँछ (राज्यराष्ट्र सिद्धान्त) ।
अनेकौँ उदाहरण दिन सकिन्छ । हामीले आधारशिला चतुष्टय भनिरहँदा, स्थितिगत्यात्मक प्रगतिवादको अर्थापन गर्दा, राज्यराष्ट्रको व्याख्या गर्दा सदैव सातत्य दृष्टिकोण नै अवलम्बन गरेका छौँ ।
दुईफक्लेटे दृष्टिकोण त्याग्नुपर्छ । सबै दुईफक्लेटे विचारहरूजस्तै द्वन्द्वात्मक भौतिकवाद पनि अहितकारी छ । स्थितिगत्यात्मक प्रगतिवाद हितकारी छ ।
दृष्टिकोणको तहमै मौलिकता सुनिश्चित गर्नको लागि सातत्य दृष्टिकोण लिनुपर्छ ।
निर्मलमणि अधिकारी

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस