सोमवार, भदौ २९, २०८३ प्रकाशित
बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका–६, चक्रघट्टीस्थित श्री महेन्द्र माध्यमिक विद्यालयको प्राङ्गणमा स्वर्गीय डा. भद्र पोखरेलको स्मृतिमा निर्माण गरिएको ‘भद्र सभा हल’ उद्घाटन गरिएको छ।
स्वर्गीय डा. भद्र पोखरेलकी धर्मपत्नी डा. निर्मला पोखरेलको पहल तथा निर्माण सहयोगमा तयार गरिएको सभा हलको उद्घाटन बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख श्री रमेश कार्कीले गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा स्व. डा. पोखरेलको शैक्षिक तथा वैज्ञानिक योगदानको स्मरण गर्दै उहाँको व्यक्तित्व र योगदानलाई भावी पुस्तासम्म पुर्याउन यस्ता स्मृतिमूलक संरचनाले महत्वपूर्ण भूमिका खेल्ने बताइएको थियो।
पाँचथर जिल्लाको यासोक–९, गैड्रीगाउँमा जन्मनुभएका स्व. डा. भद्र पोखरेलले तत्कालीन महेन्द्रनगर–२ लाई स्थायी बसोबासको क्षेत्र बनाउनुभएको थियो। उहाँ श्री महेन्द्र माध्यमिक विद्यालय, बराहक्षेत्र–६ का पूर्व विद्यार्थी हुनुहुन्थ्यो। उहाँले वि.सं. २०३० सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो।
विद्यालयसँग उहाँको सम्बन्ध विद्यार्थीमा मात्र सीमित रहेन। उहाँले वि.सं. २०३५ देखि २०३७ सम्म विज्ञान विषयको शिक्षकका रूपमा समेत सेवा गर्नुभएको थियो। पछि उच्च शिक्षा तथा अनुसन्धानको क्षेत्रमा सक्रिय रहँदै उहाँ प्रसिद्ध वैज्ञानिक तथा भौतिकशास्त्रीका रूपमा परिचित हुनुभएको थियो।
विद्यालयमा उहाँको योगदान, वैज्ञानिक क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदान तथा शिक्षा र ज्ञानप्रतिको समर्पणलाई सम्मान गर्दै उहाँको स्मृतिमा निर्माण गरिएको ‘भद्र सभा हल’ले विद्यालयका शैक्षिक, सांस्कृतिक तथा अन्य कार्यक्रम सञ्चालनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
स्व. डा. भद्र पोखरेलको स्मृतिमा निर्मित यस सभा हलले उहाँको विद्यालयसँगको सम्बन्ध र योगदानलाई जीवन्त राख्दै आगामी पुस्ताका विद्यार्थीहरूलाई शिक्षा, विज्ञान र अनुसन्धानका क्षेत्रमा अघि बढ्न प्रेरणा दिने विश्वास गरिएको छ।
फेसबुक प्रतिक्रियाहरु