काठमाडौं — रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले उद्धार, खोज तथा राहत कार्यमा सरकारका सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन्।
प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीहरूलाई तत्काल परिचालन गरिएको जानकारी दिँदै बेपत्ता नागरिकको खोजी, घाइतेको उद्धार तथा प्रभावित परिवारलाई राहत उपलब्ध गराउने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।
विज्ञापन
उनले बाढीमा ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रधानमन्त्री शाहले विपद्को यस कठिन घडीमा प्रभावित नागरिक एक्लो नभएको र राज्य सम्पूर्ण साधन–स्रोतसहित उनीहरूको साथमा रहेको बताएका छन्।
प्रधानमन्त्रीले आज रातभर पनि उद्धार तथा खोजी कार्य जारी रहने बताउँदै राहत, उपचार, खाद्यान्न, खानेपानी तथा अस्थायी बसोबासको व्यवस्था प्रभावित नागरिकसम्म तत्काल पुर्याउन निर्देशन दिएका छन्।
साथै, बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्युत् तथा खानेपानी संरचनाको पुनर्निर्माण गरी विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्ने प्रतिबद्धता पनि सरकारले जनाएको छ।
“विपद्को यो घडीमा हामी सबै एकजुट भएर पीडित नागरिकको जीवन जोगाउन र उनीहरूलाई सामान्य अवस्थामा फर्काउन सहयोग गरौँ।” 🙏
फेसबुक प्रतिक्रियाहरु