काठमाडौं, साउन १३। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति माननीय रवि लामिछानेको आह्वानमा बुधबार सम्पन्न सर्वदलीय बैठकले सुनसरीसहित विभिन्न जिल्लामा हालै विकसित संवेदनशील घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई संयुक्त अपिल गरेको छ।
बैठकपछि जारी संयुक्त वक्तव्यमा पछिल्ला घटनामा ज्यान गुमाएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै, घाइते भएका नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।
विज्ञापन
वक्तव्यमा नेपालको विविधताबीचको एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई कुनै पनि प्रकारका उत्तेजना वा अवाञ्छित गतिविधिबाट प्रभावित हुन नदिन सम्पूर्ण नागरिकलाई संयमता अपनाउन आग्रह गरिएको छ। आवेग, हिंसा र मुठभेडबाट समस्याको समाधान नहुने उल्लेख गर्दै संवाद र सहमतिमार्फत समाधान खोज्न सबै पक्षलाई आह्वान गरिएको छ।
बैठकले प्रदेश, जिल्ला तथा स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी नागरिकस्तरसम्म संवाद विस्तार गर्न र धार्मिक अगुवा, नागरिक समाज तथा स्थानीय प्रशासनसँग समन्वय गरेर शान्ति कायम राख्न सम्बन्धित पार्टीका संरचनाहरूलाई सक्रिय हुन निर्देशन दिएको छ।
यसैगरी, भविष्यमा यस्ता संवेदनशील घटना दोहोरिन नदिन राजनीतिक दलहरूको केन्द्रीय तहबाट निरन्तर समन्वय, अनुगमन तथा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
संयुक्त वक्तव्यमा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने भ्रामक सूचना, अफवाह तथा घृणास्पद अभिव्यक्तिले परिस्थितिलाई थप जटिल बनाउन सक्ने भएकाले तथ्यमा आधारित र जिम्मेवार सूचना सम्प्रेषण गर्न आम नागरिक तथा सञ्चारमाध्यमलाई विशेष आग्रह गरिएको छ।
साथै, नेपाल सरकारलाई नागरिकको जिउधनको सुरक्षा सुनिश्चित गर्न, अधिकतम संयमता अपनाई परिस्थितिलाई सामान्य बनाउन, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन बैठकले गम्भीर ध्यानाकर्षण गराएको छ।
बैठकमा सहभागी राजनीतिक दलहरूले राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्तिको संरक्षणका लागि साझा प्रतिबद्धता व्यक्त गर्दै उत्पन्न समस्याको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकार र समाजसँग सहकार्य गर्न आफूहरू दृढ रहेको बताएका छन्।


फेसबुक प्रतिक्रियाहरु