मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। रामचन्द्र पौडेल नेतृत्वको राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आज दिउँसो बालेन्द्र शाह लाई प्रधानमन्त्री पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय गरिएको छ।
राष्ट्रपति कार्यालयका अनुसार शपथअघि नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको जानकारी गराइनेछ। नेपालको संविधानको धारा ७६ को उपधारा (१) अनुसार एकल बहुमत सरकार गठन हुन लागेको हो।
विज्ञापन
शपथग्रहण समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, कूटनीतिक नियोगका सदस्य, नागरिक समाजका अगुवा तथा उच्च सरकारी अधिकारीहरूलाई आमन्त्रण गरिएको छ। प्रधानमन्त्रीसँगै मन्त्रीहरूको पनि शपथ गराइने कार्यक्रम रहेको जनाइएको छ।
गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी ले १८२ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको थियो। सोही दलले बिहीबार नेता शाहलाई संसदीय दलको नेता चयन गरेको हो।
प्रतिनिधिसभा निर्वाचनमा नेता शाह झापा क्षेत्र नं. ५ बाट ६८ हजार ३४८ मतसहित विजयी भएका थिए। बिहीबार नै प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

फेसबुक प्रतिक्रियाहरु