प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रूपमा ब्रिफिङ गरिएको छ।
प्रधानमन्त्रीले पद सम्हालेसँगै परम्परागत अभ्यासभन्दा फरक ढंगले सबै राजदूतलाई एकैपटक बोलाएर देशको वर्तमान राजनीतिक अवस्था, सरकारका प्राथमिकता र आगामी योजनाबारे जानकारी गराएका हुन्। यसअघि नयाँ प्रधानमन्त्रीसँग राजदूतहरूले छुट्टाछुट्टै भेट गर्ने चलन थियो।
विज्ञापन
संयुक्त ब्रिफिङमा प्रधानमन्त्रीले नेपालले सन्तुलित कूटनीति, आपसी सम्मान र सहकार्यमा आधारित सम्बन्धलाई प्राथमिकता दिने स्पष्ट पारे। उनले नेपालको विकास, स्थिरता र समृद्धिका लागि अन्तर्राष्ट्रिय समुदायको सहकार्य आवश्यक रहेको पनि उल्लेख गरे।
कूटनीतिक वृत्तमा यस कदमलाई नयाँ अभ्यासका रूपमा हेरिएको छ, जसले समय व्यवस्थापनमा सहजता ल्याउनुका साथै सबै देशसँग समान व्यवहारको सन्देश दिने विश्वास गरिएको छ। राजदूतहरूले पनि नेपाल सरकारको नयाँ पहलप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै आगामी दिनमा सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएका छन्।
फेसबुक प्रतिक्रियाहरु