काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी अन्तर्गतको ‘पार्टी–संसद–सरकार समन्वय समिति’ द्वारा आयोजित पहिलो “नीति मन्थन” कार्यक्रम पार्टी सभापति रवि लामिछाने को विशेष सम्बोधनसहित सम्पन्न भएको छ।

“विपद जोखिम न्यूनीकरण र व्यवस्थापन” विषय केन्द्रित उक्त कार्यक्रममा मनसुनजन्य जोखिम, पूर्वतयारी, राहत तथा उद्धार प्रणाली, जलवायु परिवर्तनका प्रभाव र सरकारी संयन्त्रबीचको समन्वयबारे विस्तृत नीतिगत बहस गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै समितिका संयोजक तथा महामन्त्री भुप देव शाह ले नेपाल विश्वकै उच्च विपद जोखिम भएका मुलुकमध्ये एक रहेको उल्लेख गर्दै बाढी तथा पहिरोले मात्रै देशमा हुने कुल प्राकृतिक विपद क्षतिको करिब ७५ प्रतिशत हिस्सा ओगट्ने तथ्य प्रस्तुत गर्नुभयो। उहाँका अनुसार प्रत्येक वर्ष औसतमा ३०० भन्दा बढी नागरिकले विपदका कारण ज्यान गुमाउने तथा हजारौं परिवार विस्थापित हुने गरेका छन्।
उहाँले विपदका कारण नेपालले वार्षिक रूपमा कुल गार्हस्थ्य उत्पादन (GDP) को करिब १.५ देखि २ प्रतिशतसम्म आर्थिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै अब “विपदपछि हारगुहार” गर्ने परम्परालाई “पूर्व सतर्कता र पूर्वतयारी” मा रूपान्तरण गर्नुपर्ने धारणा राख्नुभयो।
समितिले पार्टी, संसद र सरकारबीच प्रभावकारी समन्वय कायम गर्दै जनताको आवाजलाई नीति र नीतिलाई परिणाममा बदल्ने लक्ष्यसहित यस्तो कार्यक्रम आयोजना गरिएको जनाएको छ। कार्यक्रममा प्राप्त सुझावहरू सांसदहरूका लागि नीतिगत आधार र सरकारका लागि कार्ययोजना निर्माणको मार्गचित्र बन्ने विश्वास व्यक्त गरिएको थियो।
कार्यक्रममा स्थानीय तहसम्म स्वयंसेवक परिचालन, उद्धार तथा राहत तालिम, सूचना प्रवाह प्रणाली सुदृढीकरण तथा ‘अर्ली वार्निङ सिस्टम’ प्रभावकारी बनाउने विषयमा पनि जोड दिइएको थियो।
समापनका क्रममा संयोजक शाहले नीति-मन्थनबाट प्राप्त निष्कर्षलाई औपचारिक दस्तावेजका रूपमा अगाडि बढाइने जानकारी दिँदै कार्यक्रममा सहभागी विज्ञ, सरोकारवाला तथा उपस्थित सम्पूर्ण देशप्रेमी नागरिकप्रति आभार व्यक्त गर्नुभयो।
फेसबुक प्रतिक्रियाहरु