काठमाडौं — राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा स्वतन्त्र सांसद महावीर पुन ले सरकारले विज्ञान तथा प्रविधि मन्त्रालय गठन गरेको निर्णयको स्वागत गरेका छन्। उनले देशको दीर्घकालीन विकासका लागि अनुसन्धान, प्रविधि र नवप्रवर्तन क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको बताएका छन्।

विज्ञापन
सरकारले हालै मन्त्रालय पुनर्संरचना गर्दै विज्ञान तथा प्रविधिसम्बन्धी छुट्टै मन्त्रालय गठन गरेपछि प्रतिक्रिया दिँदै पुनले मन्त्रालय गठन सकारात्मक कदम भएको उल्लेख गरे। उनले मन्त्रालयको नाममै “अनुसन्धान” शब्द समावेश गर्न सुझाव दिएका छन्। उनका अनुसार अनुसन्धानबिना विज्ञान र प्रविधिको विकास सम्भव नहुने भएकाले “विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय” नाम अझ उपयुक्त हुने बताए।
पुनले कुल पुँजीगत बजेटको कम्तीमा १ प्रतिशत रकम अनुसन्धान तथा विकास (R&D) क्षेत्रमा छुट्याउन सरकारसँग माग गरेका छन्। नेपालमा नवप्रवर्तन र वैज्ञानिक अनुसन्धानलाई प्राथमिकता नदिँदा दक्ष जनशक्ति विदेश पलायन भइरहेको भन्दै उनले स्वदेशमै अनुसन्धानमैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।
उनले शिक्षा क्षेत्रका समस्या पनि उठाउँदै लामो समयदेखि अस्थायी रूपमा कार्यरत शिक्षकहरूको व्यवस्थापन आवश्यक रहेको बताए। साथै ग्रामीण तथा पिछडिएका क्षेत्रमा प्रविधिमैत्री शिक्षा विस्तार गर्न विशेष नीति आवश्यक रहेको धारणा व्यक्त गरे।
विशेषज्ञहरूका अनुसार विज्ञान तथा प्रविधिमा लगानी वृद्धि भए कृषि, स्वास्थ्य, शिक्षा, उद्योग तथा डिजिटल अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
फेसबुक प्रतिक्रियाहरु