“कर्णालीको पर्यटन प्रवर्द्धन, लोक संस्कृतिको संरक्षण हाम्रो अभियान” भन्ने मूल नारासहित कर्णाली पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८३ आयोजना गरिने भएको छ। महोत्सव भोलि शनिबार (जेठ २३ गते) काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब मा आयोजना हुने आयोजकले जनाएको छ।
विज्ञापन
नरहरिनाथ गाउँपालिका, कालिकोट र कर्णाली कलाकार प्रतिष्ठान, काठमाडौं को संयुक्त आयोजनामा हुन लागेको उक्त महोत्सवलाई नेपाल पर्यटन बोर्ड ले प्रवर्द्धन गरेको छ।
आयोजक सदस्य सपना शाही का अनुसार महोत्सवमा कर्णाली प्रदेशका कालिकोट, मुगु, जुम्ला, हुम्ला, डोल्पा, जाजरकोट, रुकुम पश्चिम, सल्यान, दैलेख र सुर्खेत जिल्लाका मौलिक कला, संस्कृति, भेषभूषा, परम्परा तथा जीवनशैली झल्काउने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछन्।
महोत्सवमा विभिन्न जिल्लाका कलाकार तथा सांस्कृतिक समूहहरूले लोकगीत, लोकनृत्य, देउडा, झ्याउरे, पञ्चेबाजा, चम्पा नाच, मागल तथा हुड्के नाच लगायतका परम्परागत सांस्कृतिक झाँकी प्रदर्शन गर्नेछन्।
त्यसैगरी, कर्णाली क्षेत्रका अर्गानिक कृषि उत्पादन र खाद्यान्न बालीहरूको विशेष प्रदर्शनी समेत गरिनेछ। आयोजक महेन्द्र मल्ल का अनुसार प्रदर्शनीमा जुम्लाको मार्सी धान, फापर, सिमी, ओखर, जडीबुटी, कोदो, चिनो, कागुनो लगायतका स्थानीय तथा अर्गानिक उत्पादनहरू राखिनेछन्।
आयोजकका अनुसार महोत्सवले कर्णालीको प्राकृतिक, सांस्कृतिक तथा पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउँदै स्थानीय अर्थतन्त्र, संस्कृति संरक्षण र पर्यटन उद्योगको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
महोत्सव आयोजकले कर्णालीप्रेमी, पर्यटन व्यवसायी, संस्कृति अनुसन्धानकर्ता, सञ्चारकर्मी तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई कर्णालीको मौलिक पहिचान प्रवर्द्धन गर्न आग्रह गरेका छन्।
फेसबुक प्रतिक्रियाहरु