टिकापुर । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण सुरुङभित्र केही मजदुर फसेको खबर आएपछि उनीहरूको अवस्था यथाशीघ्र सार्वजनिक गर्न माग गर्दै कैलालीको टिकापुरमा शान्तिपूर्ण आन्दोलन गरिएको छ।
टिकापुरका स्थानीय अभिभावक, युवा तथा गाउँका सर्वसाधारणले आफ्ना आफन्त तथा स्थानीय युवाहरू रसुवाको सुरुङभित्र फसेको सुन्नमा आएको भन्दै उनीहरूको अवस्थाबारे तत्काल आधिकारिक जानकारी दिन सरकार र सम्बन्धित निकायसँग माग गरेका छन्।
विज्ञापन
आन्दोलनमा सहभागीहरूले “सुरुङभित्र रहेका मजदुरहरूको अवस्था तत्काल सार्वजनिक गर”, “सम्भावित रूपमा फसेका श्रमिकको शीघ्र उद्धार गर” लगायतका माग राख्दै नाराबाजी गरेका थिए।
स्थानीयका अनुसार टिकापुरका धेरै युवाहरू उक्त क्षेत्रमा काम गर्न गएको र उनीहरू बाढीका कारण सुरुङभित्र फसेको खबर आएपछि परिवार तथा समुदायमा चिन्ता बढेको हो। घटनाबारे यथार्थ विवरण सार्वजनिक नभएसम्म आफूहरू थप चिन्तित रहने भन्दै आन्दोलनकारीहरूले सम्बन्धित निकायलाई तत्काल सूचना प्रवाह गर्न आग्रह गरेका छन्।
यसैबीच, घटनासम्बन्धी जानकारी तत्काल उपलब्ध गराउन माग गर्दै टिकापुर इलाका प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाइएको छ।
स्थानीय अभिभावक तथा समुदायको मुख्य माग सम्भावित रूपमा सुरुङभित्र रहेका श्रमिकहरूको वास्तविक अवस्था, उद्धारको प्रयास र घटनासम्बन्धी आधिकारिक जानकारी यथाशीघ्र सार्वजनिक गर्नु रहेको छ।


फेसबुक प्रतिक्रियाहरु