काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला तथा स्थानीय तहका जनप्रतिनिधिसँग छलफल सुरु गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार बिहान ११ बजेदेखि नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यहरूसँग छलफल भइरहेको छ।
विज्ञापन
छलफलमा बाढी तथा पहिरोपछि प्रभावित क्षेत्रमा उत्पन्न अवस्थाको समीक्षा, हालको परिस्थिति, तत्काल चाल्नुपर्ने कदम तथा पुनरुत्थान र पुनर्निर्माणका विषयमा केन्द्रित भएर छलफल भइरहेको छ।
विपद्का कारण क्षतिग्रस्त सडक, पुल, विद्युत्, खानेपानी, सञ्चार तथा अन्य भौतिक संरचनाको पुनःस्थापना, प्रभावित नागरिकको राहत तथा पुनर्वास र आगामी दिनमा अपनाउनुपर्ने दीर्घकालीन विपद् व्यवस्थापनका उपायबारे समेत जनप्रतिनिधिहरूले प्रधानमन्त्रीसमक्ष धारणा राख्ने अपेक्षा गरिएको छ।
सरकारले विपद् प्रभावित क्षेत्रमा राहत, उद्धार, पुनःस्थापना तथा पुनर्निर्माणलाई प्रभावकारी बनाउन स्थानीय तहसँग समन्वय गरी आवश्यक योजना अघि बढाउने विषयमा छलफललाई प्राथमिकता दिएको छ।

फेसबुक प्रतिक्रियाहरु