प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी सांसद रुबी कुमारी ठाकुर निर्वाचित हुनुभएको छ। शुक्रबार सम्पन्न निर्वाचनमा उहाँले अत्यधिक बहुमतसहित विजय हासिल गर्नुभएको हो।
प्रतिनिधि सभामा उपस्थित २५६ सांसदमध्ये ठाकुरले २२९ मत प्राप्त गर्नुभयो। उहाँकी प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामाले पाँच मत मात्र पाउनुभयो भने २२ सांसद मतदान प्रक्रियामा अनुपस्थित रहे।
विज्ञापन
रुबी कुमारी ठाकुरलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस र नेकपाको समर्थन प्राप्त भएको थियो। नेकपा (एमाले) भने निर्वाचनमा तटस्थ बसेको थियो। सभामुख डोलप्रसाद अर्यालले परिणाम घोषणा गर्दै ठाकुर उपसभामुख पदमा निर्वाचित भएको जानकारी गराउनुभयो।
धनुषाकी स्थायी बासिन्दा ठाकुर २५ वर्षकी हुनुहुन्छ। उहाँका बुवा सोगराथ ठाकुर हाल वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहनुभएको छ भने आमा रेणु ठाकुर गृहिणी तथा किसान हुनुहुन्छ।
शैक्षिक रूपमा ठाकुरले २०७४ सालमा एसइई उत्तीर्ण गरी बलरा पोलिटेक्निकबाट सिभिल इन्जिनियरिङमा डिप्लोमा पूरा गर्नुभएको छ। अध्ययनपछि उहाँ आर्किटेक्चर कन्सल्टेन्सी क्षेत्रमा कार्यरत हुनुहुन्थ्यो।
जेन–जी आन्दोलनपछि राजनीतिमा प्रवेश गर्नुभएकी ठाकुर हाल श्रम संस्कृति पार्टीको समानुपातिक तर्फबाट प्रतिनिधित्व गर्नुहुन्छ। उहाँको निर्वाचित हुनु युवापुस्ताको राजनीतिक सहभागिताको सशक्त उदाहरणका रूपमा हेरिएको छ।
फेसबुक प्रतिक्रियाहरु