बिहिबार, मंसिर ४, २०८३
  • होमपेज
  • प्रधानमन्त्री शाहद्वारा सुशासन, समृद्धि र नीतिगत स्थिरताप्रति प्रतिबद्धता व्यक्त
Breaking News

प्रधानमन्त्री शाहद्वारा सुशासन, समृद्धि र नीतिगत स्थिरताप्रति प्रतिबद्धता व्यक्त

प्रधानमन्त्री बालेन्द्र शाह ले नेपाली नागरिकको दैनिक जीवनस्तर वास्तविक र देखिने रूपमा उकास्न आफू नेतृत्वको सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौं र नयाँदिल्लीस्थित युरोपेली संघ (इयू) तथा सदस्य राष्ट्रका राजदूतहरूका साथै काठमाडौंस्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान परिस्थितिको गम्भीरता र सरकारलाई सुम्पिएको जिम्मेवारीबारे आफू पूर्ण रूपमा सचेत रहेको उल्लेख गर्नुभयो।

विज्ञापन

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दिपा दाहालका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले हालै सम्पन्न निर्वाचनले सुशासन र समावेशी आर्थिक समृद्धिका लागि स्पष्ट जनादेश दिएको बताउनुभयो। नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता कायम रहने उहाँको भनाइ थियो।

“नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन,” प्रधानमन्त्री शाहले भन्नुभयो, “नेपालको नीति निर्देशन स्पष्ट, स्थिर र अनुमानयोग्य हुने सुनिश्चित गर्दै लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण र राजनीतिक स्थिरता कायम गर्न हामी प्रतिबद्ध छौँ।”

उहाँले सरकार सुशासन, समावेशी आर्थिक वृद्धि र जनताका लागि नयाँ अवसर सिर्जना गर्न केन्द्रित रहेको बताउनुभयो। विश्व बजारबाट लाभ लिन, विदेशी लगानी आकर्षित गर्न प्रक्रियालाई सहज बनाउने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा दिगो विकासलाई प्राथमिकतामा राखिने उहाँले उल्लेख गर्नुभयो।

प्रधानमन्त्री शाहले नेपालले सन्तुलित र व्यावहारिक विदेश नीतिलाई निरन्तरता दिने स्पष्ट पार्दै छिमेकी राष्ट्र, विकास साझेदार र मित्रराष्ट्रहरूसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिका आधारमा अघि बढ्ने बताउनुभयो।

नेपालको विकास यात्रामा सहयोग पुर्‍याउँदै आएका विकास साझेदार राष्ट्रहरूप्रति आभार व्यक्त गर्दै उहाँले व्यापार, लगानी, हरित ऊर्जा, जलवायु परिवर्तन, पर्यटनलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको बताउनुभयो।

विश्वका विभिन्न भूभागमा जारी द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री शाहले सर्वसाधारण नागरिकले सबैभन्दा बढी पीडा भोगिरहेको उल्लेख गर्नुभयो। शान्ति स्थापनाका लागि सैन्य मुठभेडभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो।

भेटका क्रममा युरोपियन युनियन तथा अन्य मित्रराष्ट्रका राजदूतहरूले नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा प्रशंसा गरेका थिए। उनीहरूले सुशासन, आर्थिक विकास र समृद्धिको म्यान्डेटसहित सरकारको नेतृत्व सम्हालेकोमा प्रधानमन्त्री शाहलाई बधाई दिँदै विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य र लगानी गर्न इच्छुक रहेको बताएका थिए।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस