बिहिबार, मंसिर ४, २०८३
  • होमपेज
  • कालागाउँको पौवामा ऐतिहासिक भूमि पूजन तथा पितृउद्दार महायज्ञ सफलतापूर्वक सम्पन्न, महासचिव चक्र चन्द सोडारीद्वारा कृतज्ञता व्यक्त
Breaking News

कालागाउँको पौवामा ऐतिहासिक भूमि पूजन तथा पितृउद्दार महायज्ञ सफलतापूर्वक सम्पन्न, महासचिव चक्र चन्द सोडारीद्वारा कृतज्ञता व्यक्त

अछाम जिल्लाको कालागाउँ–१४ स्थित ऐतिहासिक पौवामा श्री सोडारी एकता समाजको आयोजनामा मिति २०८३ वैशाख २४ गतेदेखि ३१ गतेसम्म सञ्चालन गरिएको ऐतिहासिक भूमि पूजन तथा पितृउद्दार महायज्ञ भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ। धार्मिक, सांस्कृतिक तथा पारिवारिक एकताको सन्देश बोकेको उक्त महायज्ञमा देश तथा विदेशबाट श्रद्धालु भक्तजन, चन्द–सोडारी परिवार, आफन्तजन तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

विज्ञापन

महायज्ञ सफलतापूर्वक सम्पन्न भएको अवसरमा सोडारी एकता समाजका महासचिव श्री चक्र चन्द सोडारीले सम्पूर्ण सहभागी तथा सहयोगी महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ। उहाँले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ, सहयोग, सद्भाव, सुझाव तथा प्रेरणा प्रदान गर्ने सम्पूर्ण बाजे–बज्यै, आमा–बुवा, दाजुभाइ, दिदीबहिनी, अंकल–आन्टी, भाउजू, आफन्तजन तथा श्रद्धालु भक्तजनहरूप्रति विशेष धन्यवाद व्यक्त गर्नुभयो।

उहाँका अनुसार महायज्ञलाई सफल बनाउन देश तथा विदेशमा रहेका सम्पूर्ण चन्द–सोडारी परिवार तथा शुभेच्छुकहरूले आर्थिक, नैतिक, आध्यात्मिक तथा व्यवस्थापकीय रूपमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए। “दूरीले शरीर टाढा भए पनि भावना, संस्कार र पारिवारिक एकतालाई अझ नजिक बनाएको अनुभूति गरेका छौँ,” उहाँले उल्लेख गर्नुभयो।

महायज्ञमा आवश्यक पूजासामग्री, खाद्यान्न, व्यवस्थापन सामग्री तथा अन्य आवश्यक वस्तु उपलब्ध गराई सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरूप्रति पनि आयोजकले विशेष धन्यवाद व्यक्त गरेको छ। विभिन्न व्यक्तिहरूबाट प्राप्त प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोगले धार्मिक महायज्ञलाई ऐतिहासिक र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेलेको बताइएको छ।

कार्यक्रम अवधिभर पूजा–आजा, हवन, कथा श्रवण तथा धार्मिक अनुष्ठानहरू सम्पन्न भएका थिए। सम्पूर्ण परिवार एकै स्थानमा भेला भई धार्मिक गतिविधिमा सहभागी भएको दृश्यले पारिवारिक तथा सामाजिक एकतालाई थप मजबुत बनाएको आयोजकको भनाइ छ।

यस अवसरमा श्री श्री १००८ महामण्डलेश्वर स्वामी ईश्वरीय चैतन्य जी महाराजको मुखारविन्दुबाट श्रीमद्भागवत कथा श्रवण गर्ने तथा दिव्य दर्शन प्राप्त गर्ने अवसर मिलेकोमा आयोजक परिवारले यसलाई गौरव, पुण्य र खुशीको विषयका रूपमा लिएको जनाएको छ।

महासचिव चक्र चन्द सोडारीले अन्त्यमा आगामी दिनहरूमा पनि यस्तै माया, सद्भाव, एकता तथा सहयोग निरन्तर प्राप्त हुने अपेक्षा व्यक्त गर्दै सम्पूर्ण सहयोगी तथा शुभेच्छुक महानुभावहरूप्रति पुनः हार्दिक आभार प्रकट गर्नुभएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस