हरिप्रसाद सोडारी
आमा खुवाउने औँसीका दिन विहानदेखि फेसबुकहरु रङ्गिन्छन्, चर्चाहरु चुलिन्छन्, व्याख्यानहरु प्रसारण हुन्छन् तर आमाको अवस्था कस्तो छ कमैको ध्यान जान्छ । शब्दमा सजिने र व्यवहारमा देखिने आमाको ओझमा फरक पर्न सक्छ । जे होस् आमाको अगाडि शब्द होस् वा शिर, सम्मान होस् वा श्रद्धा अर्पण हुन्छ नै । यस दिन काठमाडौँस्थित मातातीर्थमा गएर स्वर्गवासी भईसकेकी आमाका नाममा पिण्डपानी दिने, विभिन्न माध्यमबाट आमाका नाममा दान आदि गर्ने होड चल्छ । बाध्यताले टाढिएका वा वाहनाले अलगिएकाहरुले पनि आमालाई संझन्छन् । पौरस्त्य परम्पराले आमासँग जोडिन, नजिकिन यस तिथिलाई जन्मायो भन्दा फरक पर्दैन ।
विज्ञापन

आमालाई शब्दमा व्याख्या गर्न सकिन्न । आमाको बोध आमा शब्दले नै गराउँछ, आमाको ओझ आमा शब्दले नै बताउँछ । प्राणको पहिलो सञ्चार आमाको गर्भमा हुन्छ । पृथ्वीको पहिलो दर्शन आमाको कोखबाट हुन्छ । भोजनको पहिलो गाँस आमाकै स्तनबाट हुन्छ । जीवनको पहिलो बसाई आमाकै काखमा हुन्छ । आवाजको पहिलो अनुभव आमाबाटै गरिन्छ । यसकारण हामी आमावादी हौँ अवसरवादी होइनौँ । सिकाईको हिँडाई, संस्कारको हिँडाई, बुझाईको हिँडाई सबै विषय आमाबाट मिल्ने हुँदा जो कोही आमापथमा हिँडेकै हुन्छ । आमालाई भुल्न खोज्दा पनि आमाकै पथमा पुग्छ, आमाकै मार्गमा दौडिन्छ, आमाकै बाटोमा तातेताते गर्छ । यसैले त आमासँग हरेक सन्तानको नाभी गाँसिएको हुन्छ अर्थात् जति टाढा हुन खोजे पनि, जति अलग बस्न चाहे पनि आमाबाट भिन्न हुनसक्दैन । यसैले हामी आमापथमा हिँड्छौँ आमावादी भएर ।
आवाजको पहिलो गुञ्जन, चेतनाको प्रथम सञ्चार, जड र चेतनको संयोजिका, जन्मको नर्सरी माँ (आमा) हुन् । आमालाई देवी, जन्मदाता, सृष्टिकर्ता, संरक्षिका आदि श्रद्धेय रुपमा पुजिन्छ, पुकारिन्छ, बुझिन्छ । धर्तीलाई माता मान्ने, पृथ्वीलाई देवी ठान्ने, जगत्लाई जननी भन्ने, प्रकृतिलाई प्राण संझने ज्ञान हामीलाई आमाले गर्भमा नै दिन्छिन् । हाम्रो चिन्तन र संस्कार, जन्म र जीवन आमाबाट एकरति अलग हुन सक्दैन । आमाले आत्मालाई शरीरमा, जीवलाई जीवनमा, प्राणलाई देहमा राखेर जन्माउँछिन् । आमाले कोखमा राखेर, कोक्रोमा हल्लाएर, काखमा खेलाएर हुर्काएकाले जीवनदाता हुन्, आश्रय र आधार हुन्, अमृत हुन् । देह दिएकाले आमालाई देवीस्वरुपमा, गर्भमा राखेकाले पृथ्वीका रुपमा, इतिहासलाई निरन्तरता दिएकाले ईश्वरीका रुपमा उपासना गरिन्छ । वेदको अध्ययन, आर्यावर्तको साधना, अजवर्षको ऊर्जाले हाम्रा पुर्खाहरूलाई आमाको आशीर्वाद लिएर ऋषि बन्ने सौभाग्य मिल्यो । ब्रह्माण्डका हरेक जीवको आमा हुनुहुन्छन् । आमा नहुने टुहुरोले दुःख पोख्ने चौतारो पाउँदैन, हिँड्ने बाटो देख्दैन, टेक्ने लौरो भेट्दैन । विद्वान्, वीर, सेवक, शासक सबैका आमा छन्, आमाबाटै जन्मिएका हुन् । यसैले हामी आत्मावादी हौँ र आमापथमा हिँड्छौँ ।
सन्तानहरूले अन्तस्करणबाट पूज्ने देवीलाई आमा भनिन्छ । स्वरुप मानिसको भए पनि योग्दान देवीभन्दा अधिक हुन्छ । ‘माङ् माने’ धातुमा ‘आङ्’ उपसर्ग लगाएर आमा शब्द बन्दछ । यसकारण आमा पनि संस्कृतभाषाकै शब्द हो । हाम्रो इतिहासमा, शास्त्रमा, संस्कारमा, समाजमा, दिनचर्यामा आमाको भूमिका महत्वपूर्ण छ । यसैले आमालाई पहिलो विद्यालय भनिन्छ, पहिलो गुरु मानिन्छ । आमा शब्द झिकिदिने हो सृष्टि सकिन्छ, जन्म रोकिन्छ, अस्तिŒव अस्ताउँछ, जगत् जान्छ, प्राणीको प्राण पखेरु पत्तासाफ हुन्छ । यसकारण आमाको स्थान पूजनीय, दर्शनीय, प्रातःस्मरणीय र श्रद्धेय छ । आमाको कोखमा जन्मले बास लिन्छ, गर्भले आश्रय लिन्छ, सृष्टिले श्वास फेर्छ, भविष्यले भरोसा गर्छ । इतिहास आमाको गर्भमा हुर्कन्छ, काखमा खेल्छ, आशीर्वादले बढ्छ अनि सन्तानको सुरक्षाकवच भई युगनिर्माणको ढोका खुलाउँछ । आमाको साथ हुँदासम्म हरेक सन्तानले सुरक्षित हुन्छ । यसैले त जन्मभूमिलाई आमाको रुपमा पुजिन्छ ।
सृष्टिलाई हेर्ने हो भने प्रकृति पहिली आमा हुन् । दोस्री जन्म दिने आमा हुन् । अबोध बच्चालाई निस्वार्थ दुध खुवाउने आमालाई धाईआमा (बच्चाबच्चीलाई दुध खुवाउने) भनिन्छ । यसकारण जन्मदिन र विवाह व्रत आदिमा आमासरहकै सम्मान धाईआमालाई दिइन्छ । जीवनरक्षामा सहयोग गर्ने हुँदा प्रकृतिलाई, परम्परासँग जोडिएकाले संस्कृतिलाई, ऊर्जासँग गाँसिएकाले देवीलाई, परम्परासँग टाँसिएकाले संस्कृतिलाई, पर्वसँग अभिन्न हुनाले पार्वतीलाई, ज्ञानमयी भएकीले सरस्वतीलाई, अर्थमयी हुनाले लक्ष्मीलाई आमाका नामले पुकारिन्छ । त्यसैले आमाशब्दको लम्बाई, चौडाई र उचाई नाप्न सक्ने यन्त्र विज्ञानले बनाउन सक्दैन । आसा र आस्थाकी केन्द्र आमा नै भएकाले उनीसँगको झगडामा पनि प्रेम हुन्छ, मनमुटावमा पनि ममता हुन्छ, रिसमा पनि रस हुन्छ । जीवनको वाद आमाबाट शुरु हुने हुँदा हरेक प्राणी आमावादी हुन्छन् । भविष्यको पथ आमाले नै देखाउने हुँदा सबै आमापथमा हिँड्छन् । यी मर्महरुलाई नेपालको अस्थिर राजनीतिले धरापमा पारेको छ । आमाका चरणमा नातिनातिना खेल्न पाउँदैनन्, बुहारीहरुलाई सिक्ने अवसर छैन । यसैले संस्कार दुब्लाएको छ, परिवार कमजोर बन्दै गएको छ ।
हाम्रो इतिहास आमासँग गाँसिएको छ, आमाको भरोसासँग टाँसिएको छ । हाम्रा पुर्खा एवंं महापुरुषहरूले आमाको नामबाट प्रसिद्धि पाएका छन् । गणेशले पार्वतीनन्दनको पगरी गुथे, भीष्मपितामहले गंगापुत्र (गांगेय)मा आफूलाई सीमित राखे, कृष्ण देवकीनन्दनको सम्बोधन मन पराउँथे, अर्जुनलाई पार्थ र कौन्तेयका नामले पुकारियो, कर्णलाई राधेय भनियो, दुर्योधन गान्धारीनन्दन भएर जिए । शासकहरू पनि आमारूपी जन्मभूमि (मातृभूमि)का सुनामले चिनिन चाहन्थे– गान्धारनरेश शकुनि, अङ्गराज कर्ण, हस्तिनापुरनरेश धृतराष्ट्र, गोरखानरेश राम शाह, नेपाल नरेश महेन्द्र, हिमालीराज्यका शासक हिमाल (पार्वतीको बुबा) आदि । यसकारण जन्मभूमि वा राष्ट्रलाई आमा भनियो । नेपालआमालाई हित नगर्नेहरुले भदौ २३ र २४ गते भोगे, चुनावसँगै कतिपय पाटीले दुर्गति भोगे, कतिपयले राजनीतिबाट सन्यास लिनुपरेको छ । राष्ट्ररुपी आमालाई माया गर्नेहरु पृथ्वीनारायण र कालु पाँडको नामले चिनिन्छन्, विसे नगर्ची र वंशी गुरुङझैँ कालजयी हुन्छन् ।
आमाको ऋणबाट उऋण हुन सकिँदैन भन्ने सम्बन्धमा रोचक कथा छ । एक सन्तानले तीर्थाटन गराएर आमाबुबाको ऋण तिर्ने प्रयास गरे । अहिलेको जस्तो यातायातको सुविधा नभएकाले आमाबुबालाई डोकामा राखेर, बर्षै लगाएर सेवासहित तीर्थाटन गराए । अब त दूधको ऋणबाट मुक्त भएँ होला भनी योगबलबाट हेर्दा त एक थोपा दूधको आधा भागको मूल्यमात्र चुक्ता भएको देखेका छन् । दूधको मूल्य, गर्भको पीडा, पालनपोषणको कष्ट, जीवन समर्पणको दुःखलाई कुनै पनि विधिबाट चुक्ता गर्न नसकेपछि बुबाआमाको सेवा गरी आशीर्वाद लिन थालेका छन् । आमाबुबाको ऋण कहिल्यै भुक्तान हुन सक्दैन । तिरेर तिर्न नसकिने ऋण नै मातृऋण हो । यसकारण मातृभूमि, मातृसंस्कृति, मातृभाषा र माताप्रति हरेक प्राणी सधैँ ऋणी हुन्छन् ।
राजनीतिले नेपालआमालाई कठपुतली बनाएर वीर र शहिदको चिरहरण गरेको छ, अस्मिता मेटाउन भाषा, धर्म, इतिहास आदिलाई सर्वत्रबाट आक्रमण गर्न थालिएको छ । आमालाई बलियो बनाउन शिक्षा, संस्कार र उपासनाको प्रशिक्षण गराउनुपर्छ । धर्मो रक्षति रक्षितः धर्मको रक्षा गरे धर्मले हाम्रो रक्षा गर्दछ । आमा नै धर्मकी धरोहर हुन् । कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवति अर्थात् सन्तान कुपुत्र हुन सक्ला आमा कहिल्यै कुमाता हुँदिनन् । त्यसैले त सुखदुःखमा वा आश्यर्चजनक विषयलाई प्रस्तुत गर्दा हे आमा ¤ भन्ने चलन छ । ‘मातृदेवो भव, पितृदेवो भव……’ मा सबैभन्दा पहिलो देवताको स्थान आमालाई दिइएको छ । प्रार्थना र नामकरणमा देवताभन्दा पहिले देवीको, पुरुषभन्दा पहिले स्त्रीको नाम आउँछ । देवताभन्दा देवीका मन्त्र, देवीको साधनाले छिट्टै फल दिन्छन् । यसैले आमाको परिभाषा छैन, व्याख्या सम्भव छैन, अर्थ बुझाउने शब्द छैन, तौलने तुलो छैन । हामीले विदेशीवादमा होइन आमावादमा उभिनुपर्छ, पराईको पथमा होइन आमाको पथमा हिँड्नुपर्छ । आमालाई नपुज्ने, आमालाई नबुझ्नेले नेपाललाई न्याय कसरी गर्न सक्छ ? आमावाद बोकेर, आमापथमा हिँडेर नेपालआमाको सेवामा जुट्न र जुटाउन लाग्यौँ भने मात्र आमाखुवाउने औँसीमाथि न्याय हुने थियो कि ?
फेसबुक प्रतिक्रियाहरु