हर्कराज राई (हर्क साम्पाङ) को दार्चुला भ्रमणपछि भावुक प्रतिक्रिया: “यो यात्रा होइन, पीडाबोध यथार्थको खोज थियो
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले दार्चुलाको दुर्गम क्षेत्रको अवलोकनपछि अत्यन्तै भावुक अभिव्यक्ति दिएका छन्।
विज्ञापन
सामाजिक सञ्जालमा सार्वजनिक गरिएको स्टाटसमा उनले उक्त भ्रमणलाई “सामान्य यात्रा नभई पीडाबोध यथार्थको खोज” भनेका छन्। उनले दुर्गम क्षेत्रमा राज्यको उपस्थिति कमजोर रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
उनका अनुसार पालिका कार्यालय पुग्न करिब ६ घण्टा पैदल हिँड्नुपर्ने अवस्था छ भने बाटोमा ढुङ्गा खस्ने जोखिमसमेत रहेको छ। जिल्ला सदरमुकाम पुग्न १ देखि १.५ दिनसम्म लाग्ने कठिन यात्रा गर्नुपर्ने बाध्यता रहेको उनले उल्लेख गरेका छन्।
त्यस क्षेत्रमा फोन नलाग्ने, विद्युत् प्रसारण नपुगेको, स्वास्थ्य चौकी पुग्न पनि ४ घण्टा पैदल हिँड्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। बजार पुग्नसमेत एक दिन लाग्ने भएकाले जनजीवन अत्यन्तै कठिन रहेको उनले बताएका छन्।
शिक्षा क्षेत्रमा आधारभूत तहसम्म मात्रै विद्यालय सञ्चालनमा रहेको र शिक्षक दरबन्दी पनि अपुग रहेको उनले उल्लेख गरेका छन्।
उनले सुरक्षा उपस्थितिका रूपमा केही सशस्त्र प्रहरी र नेपाल प्रहरी देखिए पनि विकास र सेवा प्रवाहका हिसाबले राज्यको उपस्थिति कमजोर महसुस हुने टिप्पणी गरेका छन्।
उनका अनुसार महाकाली नदीमा तुइन चुँडिएर धेरै नागरिकले ज्यान गुमाएको दर्दनाक इतिहासले त्यहाँको जनजीवन अझ पीडादायी बनाएको छ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्— “कहिल्यै घाम नलाग्ने तोसारोले ढाकिएको पाखामा कठ्याङ्ग्रिएर घामको न्यायो खोजिरहेका ती आँखाहरू मेरो आँखामा सजाएर काठमाडौं फर्किंदैछु।”
संसदका जिम्मेवारीका कारण फर्कन बाध्य भए पनि उनले अब त्यहाँका समस्यामा राज्य गम्भीर हुनुपर्ने र दार्चुलालाई राष्ट्रिय विकासको प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएका छन्।
जहाँ म पुगेँ त्यहाँबाट पालिका कार्यालय पुग्न ६ घण्टा हिँडेर जानु पर्ने रैछ ! बाटोमा ढुङ्गा खस्ने जोखिम हुने रैछ भने जिल्लाको सदरमुकाम पुग्न १ देखि १.५ दिन ! फोन नलाग्दो रैछ ! बिजुली प्रसारण पनि रैन रैछ ! स्वास्थ्य चौकी पुग्न ४ घ्ण्टा हिँडेर जान पर्ने ! बजार सदरमुकाममा मात्रै रैछ ! जान १ दिन लाग्ने ! विद्यालय आधारभुत तह सम्म रैछ ! शिक्षक दरबन्दी पुग्दो रैन रैछ ! १५ जना सशस्त्र प्रहरी र ५-६ जना नेपाल प्रहरी देख्दा मात्रै त्यो नेपाल हो भन्ने राज्यको उपस्थिति महशुस हुँदो रैछ ! संसारको यस्तो कुना जहाँ सयौं बर्ष देखि मानिसहरु बिकासको पर्खाइमा तुइनबाट खस्दै महाकालीमा बिलिन हुँदै जीवन जिइरहेका रैछन ! घरै पिच्छे १ जना २ जना तुइन चुँडिएर महाकालीमा खसेका रैछन ! सुत्केरी बुहारीलाई औषधी किन्न भनी बजार गएका छोरा तुइन चुँडिएर महाकालीमा बिलाए ! कहिल्यै फर्केन भन्दै एउटी आमाले विलौना गर्दा भक्कानिएको हृदयमा गहिरो चोट लिएर काठमण्डौँ फर्कंदैछु आज ! कहिल्यै घाम नलागेको तोसारोले छोपिएको पाखामा कठाङगृएर घामको न्यायो खोजिरहेका ती आँखाहरुको सपना मैले पनि मेरो आँखामा सजाएर काठमाण्डौँ फर्किंदैछु आज ! संसदको वैठकहरु अनि मेरा अनेकन जिम्मेवारीले गर्दा फर्कन वाध्य छु ! त्यो ठाउँलाई सम्झंदा जीवन भरि उतै बसेर गिट्टी कुटिरहूँ जस्तो लाग्ने ! श्रमदान गरिरहूँ जस्तो… आजीवन ! यो कुनै यात्रा थिएन मेरो लागि ! यो थियो एउटा पीडाबोध यथार्थको खोज ! हराएका मेरा नेपाली दाजुभाइ दिदीबैनीलाई खोज्ने यात्रा ! श्रमदानको अभियान मार्फत अब हामी जोडिएका छौँ ! पूर्व र पश्चिमलाई जोड्ने एउटा संकल्प ! अब मैले भन्नु पर्ने र भनिरहनु पर्ने केही रहेन अब राज्यको आँखा त्यता दौडनु पर्छ ! दार्चुला नेपालको अभिन्न र प्रमुख स्थानहरु मध्ये एक बन्नु पर्छ !
फेसबुक प्रतिक्रियाहरु